२०५० साल भाद्र ७ गते स्थापना भई २०५० साल मंसीर २ गते जिल्ला सहकारी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दर्ता भएको संस्था हो । दर्ताको अवस्थामा यस संस्थामा २५ जना शेयर सदस्यहरु हुनुहुन्थ्यो । यस संस्था सुरु गर्दाको सुरुवाती पूँजी ५६०० अक्षरुपी पाँच हजार छ सय रुपैया रहेको थियो । यस संस्थाको कार्यक्षेत्र स्थापनाकालमा दोलखा जिल्लाको तत्कालिन चरिकोट गाउँ बिकास समिति मात्र सिमित थियो भने २०५४ साल बाट भीमेश्वर नगरपालीका २०७० सालमा भीमेश्वर नगरपालीका लगायत वरिपरिका तत्कालिन ९ वटा गाउँ बिकास समिति थप गरीएको थियो । यसै गरी २०७७ साल बाट संस्थाको कार्यक्षेत्र दोलखा जिल्ला भरी भयो भने एकीकरणको माध्याम बाट २०७९ सालमा संस्थाको कार्यक्षेत्र दोलखा, सिन्धुपाल्चोक र काठमाण्डौ जिल्ला भित्र कायम भएकोछ । यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रविधि र मुस्कान सहितको सेवा प्रवाह गरीरहेको छ । हाल यस संस्थाको दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको छ भने दोलखा, सिन्धुपाल्चोक र काठमाण्डौमा गरी तपसिलमा उल्लेखित ११ वटा स्वीकृत सेवाकेन्द्रहरु सञ्चालनमा रहेका छन् ।
- धर्तिमाता सेवाकेन्द्र भीमेश्वर न.पा. ८ बोच, दोलखा,
- बाघखोर सेवाकेन्द्र शैलुङ् गा.पा. ४ बाघखोर दोलखा,
- फस्कु सेवाकेन्द्र शैलुङ् गा.पा. ६ गोठपानी दोलखा,
- एकता सेवाकेन्द्र बैतेश्वर गा.पा. ६ नाम्दु दोलखा,
- सुनखानी सेवाकेन्द्र कालिञ्चोक गा.पा. ८ मेलडाँडा दोलखा,
- गगनचुम्बी शुभलक्ष्मी सेवाकेन्द्र बिगु गा.पा. ४ सिंगटी दोलखा,
- जल्पाश्वरी परोपकार सेवाकेन्द्र कालिञ्चोक गा.पा. २ बाबरे दोलखा,
- थामीचागु सेवाकेन्द्र बिगु गा.पा. ८ थामीचागु दोलखा,
- किमाथाङ्का सेवाकेन्द्र काठमाण्डौ म.न.पा. ३२ पेप्सीकोला काठमाण्डौ,
- सिन्धु सेवाकेन्द्र लिसङ्खुपाखर गा.पा. ५ मुडे सिन्धुपाल्चोक र
- मैनापोखरी सेवाकेन्द्र बैतेश्वर गा.पा. ५ मैनापोखरी दोलखा ।
संस्थामा हाल २४,२९९ शेयर सदस्य र ८,४६८ बालबचतकर्ता गरी कुल ३२,७६७ जना बचतकर्ताहरु हुनुहुन्छ । हाल संस्थाको कुल वासलात रु. १ अर्ब ३७ करोड २८ लाख ८५ हजार ६६१ रहेको छ ।
यो संस्था एशियाली ऋण महासंघ द्धारा प्रतिपादित तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्धारा सञ्चालीत एक्सेस कार्यक्रममा सहभागि छ र यसले सिल्भर ब्राण्ड समेत प्राप्त गर्न सफल भईसकेको छ । संस्थामा प्रभावकारी सुशासन कायम गर्नको लागि बचत तथा ऋण सहकारीहरुको एशियाको छाता सङ्घ अकुले प्रतिपादन गरेको सुशासनको तह मापन गर्ने औजार (सियुलेग) कार्यान्वयनमा ल्याई सुशासनका सुचकांकहरुको अधिनमा रही दैनिक कार्य सञ्चालन गर्दै आईरहेको छ । संस्था पारदर्शी रुपमा सञ्चालन गर्नको लागि आईक्यानको नियमानुसार संस्थाका सम्बद्ध ब्यक्तिहरु (सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सिनियर कर्मचारीहरु) को बचत तथा ऋणको कारोवार बाह्य लेखा परीक्षणको माध्यामबाट बार्षिक साधारण सभामा सार्वजनिक गर्ने गरीएको छ । संस्थामा सञ्चालक समितिको सक्रिय सहभागिता कायम गराउनको लागि नियमित रुपमा बिना लिखित जानकारी नियमित बैठकमा तिन पटक अनुपस्थित भएमा स्वत पदमुक्त हुने नीतिगत ब्यवस्था गरीएको छ । बैठक तोकेकै समयमा सञ्चालन गर्ने गरीएको छ भने तोकेको समय भन्दा ढिला आउनेलाई उपस्थित हुन नपाउँने ब्यवस्था गरीएको छ ।
संस्थाले बिधि र प्रविधि सहीत खुशी सदस्य भन्ने नाराका साथ सेवा प्रवाह गर्दै आईरहेको छ । राज्यमा प्रचलीत कानून बमोजिम कर बुझाउदै आएको छ । यो बिषय आन्तरीक राजश्व कार्यालय बाट ३ पटक उत्कृष्ट करदाता सम्मान पाएको बाट प्रमाणित हुन्छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गर्दै अगाडि बढेकै कारण राष्ट्रिय सहकारी बैंक लि. बाट २०६९ सालमा मध्यमाञ्चलन उत्कृष्ट, २०७१ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट नेपाल उत्कृष्ट, २०७६ सालमा नेफ्स्कून बाटै एकीकरणमा नेपाल उत्कृष्ट, २०७७ सालमा नेफ्स्कून बाट नेपाल उत्कृष्ट ब्यवस्थापक, २०७८ सालमा नेपाल उत्कृष्ट संस्थापक अध्यक्ष जस्ता प्रशंसा तथा सम्मान प्राप्त गर्न सफल भएको छ ।
बिधि र प्रविधि सहीत खुशी सदस्य भन्ने नारालाई कार्यरुप दिनको लागि संस्थाले प्रविधियुक्त सेवा अन्तर्गत एटिएम, मोवाईल बैंकीङ्ग, क्युआर कोड जस्ता सेवाहरु प्रवाह गरीरहेको छ । संस्थाको दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. ६ बिच बजारमा मुख्य कार्यालय तथा माथि उल्लेखित बिभिन्न स्थानहरुमा सेवाकेन्द्र सञ्चालन गर्दै आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरीरहेको छ ।
संस्थालाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नको लागि आवद्ध छाता संघहरुले सञ्चालन गरेको स्तरीकरण तथा स्थिरिकरण कोष कार्यक्रममा सहभागि भएको छ । संस्थाको स्वस्थ्यता मापन गर्ने पल्र्स मोनिटरीङ्ग प्रणालीलाई अवलम्बन गर्दै अगाडि बढीरहेको छ । संस्थालाई स्वस्फुर्त सञ्चालन गर्नको लागि बाणिज्य बैंकहरुले अवलम्बन गर्ने वासेल तिन लाई समेत प्रयोग गरी अगाडि बढ्नको लागि तयारी गरीरहेको छ । संस्था सञ्चालन गर्नको लागि सञ्चालक समितिको दक्षता कायम गर्नु पर्दछ भन्ने मान्यता राखी भावि सञ्चालक समितिमा जान ईच्छुक सम्पूर्ण शेयर सदस्यहरुलाई नेतृत्व पूर्व तालीमको ब्यवस्था गरी संस्था अगाडि बढीरहेको छ । नेपालमा भएका सहकारीहरु मध्ये भावि नेतृत्वलाई पूर्व तालीम आवश्यक पर्दछ भनी तालीमको सुरुवात गर्ने हाम्रो संस्था पहिलो हो । संस्थाले यस कार्यक्रमलाई २०६८ सालबाटै अंगिकार गर्दै अगाडि बढीरहेको छ । यस असल अभ्यासलाई देशभरीका अन्य संस्थाहरुले पनि अवलम्बन गर्दै अगाडि बढीरहेका छन् ।
हाम्रो संस्थालाई सहकारीको सिद्धान्त, मुल्य र मान्यतामा सञ्चालन गर्नुपर्दछ भन्ने मान्यताका साथ सञ्चालक समितिको प्रत्येक महिना बस्ने नियमित बैठकमा सहकारीका सात सिद्धान्त, बचत तथा ऋणका चार सिद्धान्त, सहकारीको मुल्यहरु र मान्यताहरु बमोजिम हाम्रो संस्थाको कार्यहरु भईरहेको छ वा छैन ? छैन भने कुन कुन कार्य भएको छैन र नहुनुको कारण के हो ? भनेर बिश्लेषण री आगामी महिनामा लागु गर्न बाँकी कुरा लाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने योजना बनाउने गरीएको छ । उल्लेखित कुराहरुको बिश्लेषण गर्नको लागि ब्यवस्थापनको तर्फबाट स्लाईड प्रस्तुति गर्ने र सञ्चालक समितिहरुले गहन छलफल तथा बिश्लेषण गरी निर्णयमा पुग्ने गरीएको छ ।
संस्थाबाट गर्ने ऋण लगानी लाई ब्यवस्थित पार्नको लागि ऋण लगानी गर्नु पुर्व ऋण परामर्स गर्ने, ब्यवसाय बिकासको लागि आवश्यक मार्गप्रसस्त गर्ने र ऋण मागकर्ता शेयर सदस्यहरुलाई ऋण ब्यवस्थापन तथा बित्तिय साक्षरता तालीम प्रवाह गर्ने गरीरहेको छ । यस तालीममा शेयर सदस्यहरुलाई ऋण प्रयोग कसरी गर्ने र सहि सदुपयोग कसरी गर्ने लगाएत रुपैया प्रयोग तथा सदुपयोगिताका कुराहरु स्लाईड मार्फत् प्रस्तुत गरी ऋण ब्यवस्थापन र बित्तिय साक्षरता सम्बन्धि खुल्ला छलफल गराउने गरीएको छ ।
संस्थाले भवन निर्माण गर्दा सार्वजनिक खरिद ऐन, नियमावली तथा संस्थाको आर्थिक प्रशासन नियमावली बमोजिम पूर्ण पारदर्शी बिधि ईबिडिङ्को लागि भीमेश्वर न.पा. को पोर्टल प्रयोग गरी ईबिडिङ् मार्फत् भवनको स्ट्रक्चर तथा आन्तरीक सजावट कार्य सम्पन्न गरेको छ । यो कार्य नेपालमै सहकारी क्षेत्रको पहिलो प्रयोग भएको छ । यस प्रयोग लाई अन्य जिल्लाबाट अध्ययन अवलोकन गर्न दोलखा आउने पर्यटकको बृद्धि भएको छ । यो कार्य सहीत संस्थाको अन्य असल अभ्यासहरु हेर्न हजारौको संख्यामा आउनेहरुको कारणले दोलखाको आन्तरीक पर्यटनमा समेत संस्थाले सहयोग पु¥याउदै आएको छ ।
सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुलाई प्रविधि र मुस्कान सहीतको सेवा दिनु पर्छ भन्ने अभिप्रायका साथ संस्थाको मानव संशाधनहरुले कार्य गरीरहेका छन् । मानव संशाधनलाई उत्प्रेरीत राखेमा प्रभावकारी सदस्य सेवा हुन्छ भन्ने कुरा संस्थामा सबै लाई ज्ञान भए बमोजिम मानव संशाधनहरुको सन्तुष्टि मुल्यांकन, पियर मुल्यांकन, स्वमुल्यांकन, श्रम अडिट जस्ता कार्यहरु गर्दै संस्था अगाडि बढीरहेको छ ।
संस्थाले सहकारीको सातौ सिद्धान्त समुदाय प्रति चासोलाई आधार मान्दै बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यस शिर्षक अन्तर्गत सार्वजनिक स्थानमा शौचालय निर्माण, प्रतिक्षालय निर्माण, दन्त शिविर, स्त्रि रोग परिक्षण शिविर, बिपद् राहात सहयोग, जटिल रोगमा संस्थागत क्षमता अनुसार सहयोग जस्ता कार्यक्रमहरु गर्दै आईरहेको छ ।
संस्थामा आवद्ध शेयर सदस्यहरु मध्ये जेष्ठ शेयर सदस्य सम्मान कार्यविधि बमोजिम उमेर पुगेका जेष्ठ शेयर सदस्यहरुलाई जेष्ठ शेयर सदस्य भत्ता उपलब्ध गराउदै आएको छ । संस्थामा आवद्ध महिला शेयर सदस्यहरु सुत्केरी हुँदा सम्झना स्वरुप भत्ता उपलब्ध गराउदै आएको छ।
सहकारी संस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु अबैतनिक हुन्छन् भन्ने कुरामा स्पस्ट हुँदै अन्य कुनै सुविधा लिने गरेको छैन । सञ्चालक समितिको बैठक बार्षिक रुपमा १८ वटा भन्दा बढी भएमा भत्ता नलिने गरी नीतिगत ब्यवस्था गरीएको छ । संस्थाको पदाधिकारीहरु मासिक दुई पटक बिना भत्ता बैठक बसी संस्थाको सदस्य सेवा कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल गर्ने गरीएको छ । संस्थाको बार्षिक साधारण सभामा सहभागि हुँदा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संरक्षक, सल्लाहकार, बिभिन्न उपसमितिहरुले भत्ता नलिने ब्यवस्था गरीएको छ ।